
यस वर्षको पहिलो सुपरहिट फिल्म ‘ऊनको स्वीटर’ले प्रदर्शनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । गत बैशाख २६ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले शनिबार ५१ दिनको यात्रा पूरा गरेको हो । फिल्मले देशभरका ३० बढी हलमा ५१ औं दिन मनाएको निर्माण कम्पनी आर्टमान्डूले जनाएको छ । यो अवधिसम्म फिल्मले बक्स अफिसमा ११ करोड ८० लाखमाथिको व्यापार गरेको छ ।
प्रदर्शनको ५१ दिनको अवसरमा शनिबार काठमाडौंमा फिल्मको निर्माण टिमले विशेष कार्यक्रम आयोजना गरेको थियो, जहाँ हल सञ्चालकलाई कदर पत्र र कलाकार तथा प्राविधिकलाई ‘टोकन अफ लभ’ प्रदान गर्दै केक पनि काटियो । कार्यक्रममा निर्देशक नवीन चौहान, कलाकारहरु विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, गायक सुजन चापागाईं लगायतको उपस्थिति रहेको थियो ।
‘ऊनको स्वीटर’ सफल भएपछि यसको सिक्वेल (दोस्रो भाग) बन्छ कि बन्दैन भन्ने चासो धेरैमा देखिएको छ । किनकि, फिल्मको कथा अधुरै छाडिएको छ । शनिबार ५१ दिनको सेलिब्रेसन कार्यक्रममा पत्रकारसँग अनौपचारिक कुराकानीको क्रममा फिल्मका लेखक तथा निर्देशक नवीन चौहानले सिक्वेल नबन्ने जानकारी दिए । सिक्वेल बनाउँदा कथाको मिठास नै हराउने उनको भनाइ छ ।
‘ऊनको स्वीटर’ सफल हुनुमा गीतसंगीतको भूमिका सबैभन्दा महत्त्वपूर्ण मानिएको छ । यसमा समावेश ‘फूल’, ‘मखमली’, ‘काफ्ले’ र ‘चाइनेजो जिन्दगानीमा’ गीत दर्शकमाझ लोकप्रिय बन्दा त्यसको फाइदा फिल्मको व्यापारमा भयो । किनकि, सुरुवाती दिनमा गीतले नै हलमा दर्शक ओरालेको थियो । यसैले यो फिल्म सफल हुनुको मुख्य जस धेरैले गायक सुजन चापागाईँलाई दिएका छन् ।