कुनै बेला दीपक-दीपा समूहको फिल्ममा मात्रै सीमित भएका कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले ‘छक्का पञ्जा ५’पछि स्वतन्त्र भएर काम गर्न अनुमति पाएपछि श्रृंखलाबद्ध रुपमा फिल्म सम्झौता गरिरहेका छन् । उनले एक वर्षमा तीन फिल्म ‘जेरी अन टप’, ‘माग्ने राजा’ र ‘माइतीघर’को छायांकन भ्याइसकेका छन् । यसैबीच, उनी नयाँ फिल्म ‘जहाजैमा’मा अनुबन्धित भएका छन् ।

मंगलबार फिल्मका निर्माता उज्ज्वल गुरागाईँ र केदारबीच लिखित सम्झौता भएको हो । ‘पिताम्बर’की निर्देशक कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको यो फिल्ममा केदारको मुख्य भूमिका रहने जनाइएको छ । ‘माग्ने राजा’मा ६१ लाख लिएर सर्वाधिक महँगा कलाकार बनेका उनले ‘जहाजैमा’मा कति पारिश्रमिक लिएका छन् भन्ने चाहिँ खुलाइएको छैन ।

फिल्ममा यसअघि फिलिपिनी मुलकी जापानी अभिनेत्री रजेल इचिमिया अनुबन्धित भइसकेकी छन् । ‘बी माई गेस्ट, बी माई बेबी’ जस्ता जापानी फिल्ममा अभिनय गरिसकेकी उनले ‘जहाजैमा’बाट नेपाली फिल्ममा डेब्यु गर्न लागेकी हुन् । केदार र रजेलबाहेक फिल्ममा अरु कलाकार निश्चित भएका छैनन् । आगामी भदौ अन्तिमबाट फिल्मको छायांकन सुरु गरिँदैछ ।

यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको फिल्मले नेपाल–जापानको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथा भन्नेछ । सन् २०२६ मा रिलिज लक्ष्य राखिएको फिल्मको छायांकन नेपाल, जापान र फिलिपिन्समा हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय