
नेपाली फिल्म क्षेत्रमा कलाकारको पारिश्रमिकको चर्चा बेला बखतमा ठूलै हुने गर्छ । गत वर्षसम्म यो चर्चा अनमोल केसीका कारण हुन्थ्यो । किनकि, सबैभन्दा महँगो पारिश्रमिक उनैले बुझ्थे । एउटा फिल्ममा ५० लाख पारिश्रमिक लिने उनी नै पहिलो अभिनेता हुन् । तर, अब सर्वाधिक पारिश्रमिक लिने होडमा हास्य कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ सबैभन्दा अगाडि आएका छन् ।
गत वर्ष फिल्म ‘माग्ने राजा’मा केदार अनुबन्धित भएपछि उनी सर्वाधिक महँगा कलाकार बनेको भन्दै ठूलो चर्चा भएको थियो । तर, उनको पारिश्रमिक खुलाइएको थिएन । चर्चा भने ५५ लाखसम्मको चल्यो । शुक्रबार फिल्मको पोस्टर सार्वजनिक कार्यक्रममा निर्माता आफैंले उनलाई तिरेको पारिश्रमिकबारे खुलासा गरेका छन् । निर्माताको खुलासाले कार्यक्रममा धेरैले जिब्रो टोकेका थिए ।
घोराही उपमहानगरपालिका-४ का वडाध्यक्ष समेत रहेका निर्माता मुनाल घिमिरेका अनुसार ६१ लाख रुपैयाँ पारिश्रमिकमा उनलाई फिल्ममा अनुबन्धित गरिएको हो । उनले कार्यक्रममा भने, ‘म कलाको मन्दिर (प्रज्ञा प्रतिष्ठान)लाई साक्षी राखेर भन्छु, केदार घिमिरेलाई सम्झौताको बेला ५१ लाख दिएको हुँ । अझै १० लाख दिन बाँकी नै छ । उहाँलाई ६१ लाख तिर्ने प्रतिबद्धता भएको हो ।’
कार्यक्रममा पारिश्रमिकबापत राज्यलाई तिर्नुपर्ने करको विषयमा पनि पत्रकारले प्रश्न गरेका थिए । जसको जवाफमा केदारले भने, ‘म इमानदारिताका साथ कर तिर्छु । सबै पैसा आइसकेको छैन । आएपछि तिर्छु । राज्यलाई कर नतिरिकन यसो र उसो भएन भन्दैनौं हामी ।’ केदारले फिल्ममा ६१ लाख पारिश्रमिक लिएका हुन् भने उनले राज्यलाई ९ लाख १५ हजार रूपैयाँ कर तिर्नुपर्नेछ ।
निर्देशक ऋषि लामिछानेलाई भने केदारलाई तिरेको ६१ लाख पनि कम भयो भन्ने लाग्छ । उनी भन्छन्, ‘मलाई त केदार घिमिरेलाई ६१ लाख दिएर गल्ती गर्यौं भन्ने लाग्छ । उहाँलाई एक करोड दिनुपर्ने रहेछ । उहाँको जुन मिहिनेत र समर्पण छ, त्यो अद्भूत छ । उहाँ रातको ११ बजे समेत स्क्रिप्टमा छलफल गर्न आउनुहुन्थ्यो । त्यस्तो अभिनेतालाई ६१ लाख धेरै कम हो, एक करोड दिनुपर्छ ।’